दफा ११
बीमकको दर्ताको नवीकरण
(१) बीमकले आफ्नो दर्ताको प्रमाणपत्रको नवीकरणको लागि प्रत्येक वर्ष चैत्र मसान्तसम्ममा तोकिएको दस्तूर सहित तोकिएको ढांचामा समितिको कार्यालयमा निवेदन दिनु पर्नेछ । (२) उपदफा (१) बमोजिमको निवेदन प्राप्त भएपछि समितिले दर्ताको प्रमाणपत्र नवीकरण गरी दिनु पर्नेछ । (३) उपदफा (१) बमोजिमको म्याद भित्र कुनै बीमकले आफ्नो दर्ताको प्रमाण पत्र नवीकरणको लागि निवेदन दिन नसकेको कारण खुलाई म्याद समाप्त भएको मितिले तीस दिन भित्र समिति समक्ष निवेदन दिएमा र समितिले सो कारण मनासिब देखेमा त्यस्तो बीमकको दर्ताको प्रमाण पत्र नवीकरण गरी दिन सक्नेछ । ११क बीमकको दर्ताको प्रमाण पत्र नवीकरण हुन नसक्ने अवस्थाः (१) दफा ११ मा जुनसुकै कुरा लेखिएको भएता पनि देहायको कुनै अवस्थामा समितिले बीमकको दर्ताको प्रमाण पत्र नवीकरण गर्ने छैनः– (क) दफा २३ बमोजिम वासलात पेश नगरेमा, (ख) दफा २४ बमोजिम आम्दानीको हिसाब पेश नगरेमा, (ग) दफा २५ बमोजिम लेखा परीक्षणको प्रतिवेदन पेश नगरेमा, (घ) दफा २६ बमोजिम विमाङ्कीको प्रतिवेदन पेश नगरेमा, (ङ) दफा ४० बमोजिम विमा सेवा शुल्क नबुझाएमा, (च) दफा १२क बमोजिम विमा व्यवसाय गर्न रोक लगाइएकोमा (२) उपदफा (१) बमोजिमको कुनै अवस्था परी बीमकको दर्ताको प्रमाण पत्र नवीकरण हुन नसक्ने स्थिति सृजना भएमा समितिले बीमकलाई सो कुराको सूचना त्यस्तो स्थिति सृजना भएको पन्ध्र दिन भित्र दिनु पर्नेछ । (३) बीमकले दफा २३, २४, २५, २६ र ४० बमोजिम आपूmले पुरा गर्नु पर्ने दायित्व समयमा पुरा गर्न नसकेको मनासिब माफिकको कारण खुलाई उपदफा (२) बमोजिमको सूचना प्राप्त भएको मितिले पन्ध्र दिन भित्र समिति समक्ष निवेदन दिएमा समितिले कारण मनासिब देखेमा त्यस्तो दायित्व पूरा गर्न बढीमा एक महिनासम्मको म्याद थप दिन सक्नेछ ।